काठमाडौं । काठमाडौं महानगरपालिका ले शहरी सौन्दर्य तथा सुरक्षामा नकारात्मक प्रभाव पार्ने विज्ञापन सामग्रीमाथि पूर्ण प्रतिबन्ध लगाउने नीति अघि सारेको छ।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरले सुशासन, सेवा प्रवाह, शहरी व्यवस्थापन तथा प्रविधिमैत्री प्रशासनलाई प्राथमिकतामा राखेको जनाएको छ। नगरसभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डंगोल ले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।
नीति तथा कार्यक्रमअनुसार महानगरका सूचना तथा गतिविधिको प्रचारप्रसारका लागि वेबसाइट, आधिकारिक मल्टिमिडिया च्यानल तथा डिजिटल प्लेटफर्मको प्रयोगलाई विस्तार गरिनेछ। साथै स्रोत–साधनको उपयोगलाई थप मितव्ययी, पारदर्शी र नतिजामुखी बनाइने उल्लेख गरिएको छ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउन महानगर र सबै वडा कार्यालयमा एकद्वार सेवा केन्द्र सञ्चालन गरिनेछ भने कर्मचारीको कार्यक्षमता अभिवृद्धिमा विशेष जोड दिइने भएको छ।
महानगरले विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै ‘सिक्दै जाँदा कमाउनुहोस्’ अवधारणाअन्तर्गत इन्टर्नसिप, फेलोसिप तथा पार्ट–टाइम इन्गेजमेन्ट कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरेको छ।
स्थानीय तहमा देखिने विवाद समाधानका लागि मेलमिलाप प्रक्रियालाई प्राथमिकता दिँदै न्याय सम्पादनलाई छिटो, सरल र पहुँचयोग्य बनाइने नीति लिइएको छ। त्यस्तै शहरी सुव्यवस्थापनका लागि महानगर प्रहरी बलको परिचालनलाई थप प्रभावकारी बनाइने तथा नेपाल प्रहरी लगायत सुरक्षा निकाय, समुदाय र विभिन्न संघसंस्थासँग सहकार्य र समन्वय बढाइने जनाइएको छ।
पार्किङ व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्दै महानगरले नयाँ सडक र आसपासका क्षेत्रमा देखिएको पार्किङ समस्याको दीर्घकालीन समाधान खोज्ने भएको छ। यसका लागि नेपाल वायु सेवा निगम को नयाँ सडक गेटस्थित जग्गालाई बहुस्तरीय पार्किङका रूपमा उपयोग गर्न नेपाल सरकारमार्फत पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
यसैगरी विश्वका विभिन्न शहरका असल अभ्यासबाट सिकाइ आदानप्रदान, प्रविधि हस्तान्तरण, सूचना तथा सांस्कृतिक सहकार्यलाई प्रवर्द्धन गर्दै ‘सबनेसनल डिप्लोमेसी’ मार्फत काठमाडौंको समग्र विकासमा योगदान पुर्याउने लक्ष्य महानगरले अघि सारेको छ।




















