काठमाडौं । नेपाली कांग्रेसले बजेटसम्बन्धी विषयमा प्रश्न उठाउने सांसदहरूप्रति अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रयोग गरेको अभिव्यक्ति संसदीय मर्यादाविपरीत रहेको टिप्पणी गरेको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद अर्जुननरसिंह केसीले प्रश्न गर्ने सांसदको नाममा फाइल खोल्ने चेतावनी दिनु संसदको गरिमामाथिको आघात भएको बताए। उनले संसद तर्क, बहस र विमर्शको थलो भएकाले धम्कीपूर्ण अभिव्यक्तिले संसदीय अभ्यासलाई कमजोर बनाउने धारणा राखे।
‘प्रश्न गर्ने सांसदलाई तपाईंको नामको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो,’ केसीले भने।
बजेटमा करका दर हेरफेर भएको र त्यससम्बन्धी सूचना चुहावट भएको आरोपबारे उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले विगतका घटनाहरू पनि हेर्न सुझाव दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाएका हुन्।
केसीले संसदलाई डर वा दबाब सिर्जना गर्ने स्थानका रूपमा नभई लोकतान्त्रिक बहस र जवाफदेहिताको मञ्चका रूपमा लिनुपर्नेमा जोड दिए। उनले सरकार र मन्त्रीहरू सार्वजनिक रूपमा उठेका प्रश्नको तथ्य र तर्कका आधारमा उत्तर दिनुपर्ने बताए।
यस विषयमा नेपाली कांग्रेससँगै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि अर्थमन्त्रीको आलोचना गरेका छन्। विपक्षी दलहरूले संसदमा उठाइएका प्रश्नको जवाफ दिने क्रममा धम्कीपूर्ण भाषा प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्।
बजेटसँग सम्बन्धित विवाद र अर्थमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा लगातार बहस भइरहेको छ भने विपक्षी दलहरूले यस विषयमा थप स्पष्टिकरण र छानबिनको मागसमेत गरेका छन्।




















