काठमाडौं । नेकपा एमालेले बजेटसँग सम्बन्धित आर्थिक विधेयकमा छेडखानी भएको आरोप लगाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन गर्न माग गरेको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले सांसद गुरुप्रसाद बरालले बजेटका दररेटमा हेरफेर गरेर राजस्व प्रणालीमै असर पार्ने काम भएको आरोप लगाए। उनले यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र अर्थमन्त्री जिम्मेवारीबाट उम्किन नपाउने बताए।
‘अर्थमन्त्रीले बजेटको दररेटमा छेडखानी गरेर राजस्वलाई नै तलमाथि गर्नुभएको छ। यो विषय सामान्य होइन, यसको संसदीय छानबिन हुनुपर्छ,’ बरालले भने।
अर्थमन्त्री वाग्लेले जेठ १५ गते संघीय संसदका दुवै सदनमा आर्थिक विधेयक प्रस्तुत गरेका थिए। त्यसपछि जेठ १७ गते केही भाषिक त्रुटि र अस्पष्टता सच्याउन भन्दै संसद सचिवालयमा पत्र पठाइएको थियो। अर्थमन्त्रीले त्यसयता विधेयकमा कुनै नीतिगत वा करसम्बन्धी संशोधन नगरिएको दाबी गर्दै आएका छन्।
तर विपक्षी दलहरूले विधेयक संशोधनसम्बन्धी संसदीय प्रक्रिया सुरु नै नभएको अवस्थामा ‘त्रुटि सुधार’का नाममा पाँच बुँदे संशोधन गरिएको भन्दै प्रश्न उठाएका छन्। प्रतिनिधिसभा नियमावलीअनुसार विधेयकमाथिको सामान्य छलफल सम्पन्न भएपछि मात्र सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्न पाउने व्यवस्था रहेको उनीहरूको तर्क छ।
एमालेले त्रुटि सुधारका नाममा गरिएको भनिएको संशोधनको कानुनी आधार, प्रक्रिया र अधिकारबारे स्पष्ट जवाफ दिन अर्थमन्त्रीसँग माग गरेको छ। पार्टीका अनुसार कुन कानुन वा व्यवस्थाअन्तर्गत संसद सचिवालयमा त्रुटि सुधारसम्बन्धी पत्र पठाइएको हो भन्ने विषयमा सरकारले अहिलेसम्म स्पष्ट धारणा सार्वजनिक गरेको छैन।
अर्थमन्त्री वाग्लेले भने आफूले कुनै विषयवस्तु परिवर्तन नगरेको र अर्थ मन्त्रालयका कर्मचारीबाट भएको प्राविधिक त्रुटिको जिम्मेवारी मन्त्रालय प्रमुखका रूपमा आफूले लिएको स्पष्टीकरण दिँदै आएका छन्।
यद्यपि विपक्षी दलहरूले यस विषयलाई गम्भीर संसदीय प्रश्नका रूपमा उठाउँदै संसदीय छानबिन समिति गठन गरेर वास्तविकता सार्वजनिक गर्नुपर्ने माग दोहोर्याएका छन्।




















