काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै नेकपाका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेट निर्माण प्रक्रियासँग सम्बन्धित विषयमा अर्थमन्त्री वाग्लेले दिएको अभिव्यक्ति संसदको गरिमाविपरीत रहेको आरोप लगाए। उनले मन्त्री वाग्लेले संसदलाई हेप्ने शैलीमा बोलेको भन्दै त्यसबारे संसदीय छानबिन आवश्यक रहेको बताए।
पुनले पुराना सरकारले बजेटमा ६७ वटा हेरफेर गरेको र आफूले सातवटा मात्र संशोधन गरेको भन्ने आशयको अभिव्यक्ति अर्थमन्त्रीले दिएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाए। उनले यस्तो अभिव्यक्तिले संसद र सांसदहरूको भूमिकालाई कमजोर बनाउने तर्क गरे।
बजेटसम्बन्धी विषय उठाउने सांसदहरूलाई अर्थमन्त्रीले विगतका काण्डका फाइल खोल्ने चेतावनी दिएको आरोप पनि पुनले लगाए। उनका अनुसार यस्तो अभिव्यक्ति जिम्मेवार मन्त्रीबाट अपेक्षित नभएको र यसले संसदीय मर्यादामाथि प्रश्न उठाएको छ।
पुनले विगतका मन्त्रीबारे छानविन गर्ने हो भने आफैबाट शुरु गरे हुने चेतावनी दिँदै विगतकाले गल्ती गरेका छन्, छानविन गर्छु भनेर तर्साएर उन्मुक्ति पाउँनु पर्छ भन्ने भ्रममा नपर्न अर्धमन्त्री वाग्लेलाई सचेत गराएका छन् ।
यसअघि पुनले यही विषय प्रतिनिधिसभाअन्तर्गतको लेखा समिति बैठकमा पनि उठाएका थिए। उक्त बैठकमा उनले अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराउँदै त्यसबारे स्पष्ट जवाफ माग गरेका थिए।
नेकपाले अर्थमन्त्रीमाथि उठेका विषयको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गरी तथ्य सार्वजनिक गर्नुपर्ने माग गरेको छ।




















