काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग परमाणु कार्यक्रमसम्बन्धी महत्वपूर्ण सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेका छन्। उनले सम्झौता नजिकिँदै जाँदा इरानमाथिको सम्भावित सैन्य आक्रमण पनि रोकिएको बताएका छन्।
बीबीसीका अनुसार ह्वाइट हाउसस्थित ओभल अफिसमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको वार्तामा उल्लेखनीय प्रगति भएको दाबी गरे। उनका अनुसार दुवै पक्षबीच इरानले भविष्यमा परमाणु अस्त्र विकास नगर्ने विषयमा सहमति जुटेको छ, जुन वार्ताको मुख्य उद्देश्य रहेको उनले बताए।
ट्रम्पले सम्झौतापत्र तयार हुनेबित्तिकै युरोपमा हस्ताक्षर गर्ने योजना रहेको उल्लेख गर्दै सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरे। उनले सम्झौता भएपछि विश्व ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने होर्मुज जलमार्ग पनि खुला हुने बताए।
तर इरानले भने सम्झौता टुङ्गोमा पुगिसकेको ट्रम्पको दाबीलाई अस्वीकार गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सरकारी टेलिभिजनसँग कुरा गर्दै कुनै पनि विषयमा अन्तिम निर्णय नभएको बताएका छन्। उनका अनुसार प्रस्तावित सम्झौतामाथि अध्ययन भइरहेको छ र इरान आफ्ना आधारभूत सर्तबाट पछि हट्ने पक्षमा छैन।
इरानको भनाइअनुसार प्रारम्भिक मस्यौदामा सहमति भए पनि अमेरिकाले वार्ताका क्रममा नयाँ–नयाँ माग थप्दै गएको छ, जसका कारण सहमति अझै निश्चित हुन सकेको छैन।
ट्रम्पले यसअघि पनि पटक–पटक इरानसँग सम्झौता नजिक पुगेको दाबी गर्दै आएका छन्। इरानको तस्नीम समाचार संस्थाका अनुसार पछिल्ला दुई महिनामा मात्र ट्रम्पले ३८ पटक सम्झौता हुन लागेको बताएका छन्।
यसैबीच, ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य ४.४ प्रतिशतले घटेर प्रतिव्यारेल ८९ अमेरिकी डलरमा कारोबार भएको बताइएको छ।
ट्रम्पले खाडी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरू तथा इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँग पनि छलफल गरिसकेको जानकारी दिएका छन्। उनका अनुसार सम्भावित सम्झौताले मध्यपूर्व क्षेत्रमा सकारात्मक सन्देश दिएको छ।
उता, इजरायली प्रधानमन्त्रीको कार्यालयले ट्रम्प र नेतन्याहूबीच संवाद भएको पुष्टि गरे पनि प्रस्तावित सम्झौताको मस्यौदा तयार गर्ने प्रक्रियामा इजरायल प्रत्यक्ष रूपमा संलग्न नरहेको जनाएको छ।




















