काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन शाहको संसद्मा दिएको विवादास्पद अभिव्यक्तिप्रति समर्थन जनाउने सांसदहरूबारे जनताले प्रश्न उठाइरहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै महरले ‘नेपालले पनि भारतको जमिन मिचेको छ भन्ने प्रधानमन्त्रीको राष्ट्रघाती र देशद्रोही कुरा सदनबाट बोलिरहँदा त्यो अभिव्यक्तिमा ताली पिट्ने सांसद को हुन् ?’ भनेर आम नागरिकले प्रश्न गरिरहेको संसद्मा सुनाए ।
यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् । प्रधानमन्त्री बालेनकोअभिव्यक्तिमा रास्वपाका सबै सांसदहरुले ताली पड्काएका थिए भने केही सांसदहरु प्रधानमन्त्रीको झुटो अभिव्यक्तिलाई सही हो भन्ने भ्रम फैल्याउन झुटा प्रमाण सार्वजनिक गरिरहेका छन् ।
यस विषयमा बुधबार परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा सरकारको धारणा प्रस्तुत गरे पनि विपक्षी दलहरू सन्तुष्ट भएका छैनन्। उनीहरूले प्रधानमन्त्री स्वयंले संसद्मा उपस्थित भएर आफ्नो भनाइ स्पष्ट पार्न तथा आवश्यक परे सच्याउनुपर्ने माग दोहोर्याएका छन्।
एमालेसहितका विपक्षी दलहरूले राष्ट्रियता र सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर भएको भन्दै त्यसबारे स्पष्ट जवाफ आउनुपर्ने बताएका छन्।




















