काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा करका दर हेरफेर र सूचना चुहावटसम्बन्धी आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले विद्युतीय सवारीसाधनमा कर बढ्ने सूचना पूर्वसूचना दिएर फाइदा पुर्याएको भन्ने आरोपलाई अस्वीकार गर्दै प्रमाण पेश गर्न चुनौती दिए।
‘स्वर्णिम वाग्लेले दुई रुपैयाँ बराबरको पनि बदमासी गरेको प्रमाणित भए म अर्थमन्त्री मात्र होइन, सांसद पद र सार्वजनिक जीवन नै त्याग्न तयार छु,’ उनले भने, ‘प्रमाणसहित आउनुस्, म कठघरामा उभिन तयार छु।’
बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा देखिएका केही त्रुटि स्वीकार गर्दै ती जानाजान नभई कर्मचारीस्तरबाट भएको कमजोरीका कारण भएको दाबी गरे। जेठ १५ गते संसद्मा पेश गरिएको आर्थिक विधेयकमा एक स्थानमा करको दर र अर्को स्थानमा शुल्कसम्बन्धी त्रुटि भएको उनले स्वीकार गरे।
‘मैले टाइप गरेर बिगारेको होइन। तर मन्त्रालयको अभिभावकका रूपमा कर्मचारीले गरेको गल्तीको जिम्मेवारी मैले लिनुपर्छ,’ उनले भने, ‘राति अबेरसम्म काम गर्दा केही विषय छुट्न पुगेका थिए, त्यसैले त्रुटि सच्याउन जेठ १७ गते संसद् सचिवालयमा पत्र पठाइएको हो।’
उनका अनुसार जेठ १७ गतेपछि आर्थिक विधेयकमा कुनै पनि विषयवस्तुगत संशोधन गरिएको छैन। सचिवालयमा पठाइएको पत्र त्रुटि सच्याउने उद्देश्यका लागि मात्रै भएको उनको भनाइ थियो।
तर विपक्षी दलहरूले विधेयक संशोधनसम्बन्धी संसदीय प्रक्रिया सुरु नै नभएको अवस्थामा अर्थमन्त्रीले पाँच बुँदे ‘त्रुटि सुधार’ को पत्र पठाउनुको कानुनी आधारबारे प्रश्न उठाएका छन्। प्रतिनिधिसभा नियमावलीअनुसार विधेयकमाथि सामान्य छलफल र संशोधन प्रस्ताव दर्ताको प्रक्रिया अगाडि बढेपछि मात्रै संशोधनको चरण सुरु हुने व्यवस्था छ।
यस विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आफूविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको दाबी गरे। उनले आफ्नो नेतृत्वमा प्रस्तुत बजेट ऐतिहासिक रहेको जिकिर गर्दै कर हेरफेरसम्बन्धी आरोपहरू राजनीतिक उद्देश्यबाट प्रेरित भएको संकेत गरे।
वाग्लेले करसम्बन्धी निर्णयमा कुनै अनियमितता नभएको दोहोर्याउँदै तथ्य र प्रमाणका आधारमा मात्रै बहस गर्न आग्रह गरेका छन्।




















