काठमाडौं । राप्रपाका प्रमुख सचेतक खुस्बु ओलीले विद्युतीय गाडी आयातमा कर छली प्रकरणमा नैतिकताका आधारमा अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी छन् ।
मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले गाडी आयातमा कर छली प्रकरणको छानबिनका लागि समिति बनेको अवस्थामा छानबिन सम्पन्न नहुँदासम्म आधारमा अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् ।
उनले कर छली प्रकरण र करका दर हेरफेरको विषय अर्थमन्त्रालयसँग जोडिएकाले पनि निष्पक्ष र विश्वसनीय छानबिनका लागि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरिन् । उक्त प्रकरणमा अर्थमन्त्रीले बनाउने समितिबाट सुनपानी छर्कने मात्र काम हुने देखिएको उनको भनाइ छ ।
त्यस्तै उनले सीमाका विषयमा सदन अवरुद्ध भइरहेको अवस्थामा नेपालले सीमा मिचेको पुष्टि प्रधानमन्त्रीले गर्नुपर्ने वा प्रधानमन्त्रीले आफ्नो गल्ती स्वीकार गर्दै सच्चाउनुपर्ने बताइन् ।




















