काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ । देशभरका बाँकी जिल्लाहरूमा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रास्वपाले जनाएको छ ।
रास्वपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीका अनुसार १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी छ भने केही जिल्लामा प्राविधिक कारणले अधिवेशन सुरु हुन बाँकी छ । रास्वपाले महाधिवेशनको तयारी स्वरूप जेठ २३ देखि देशभर जिल्ला अधिवेशन सुरु गरेको थियो । पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिएलगत्तै मंगलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदै छ ।
रास्वपा प्रवक्ता मनीष झाका अनुसार सम्पन्न भएका ५६ जिल्ला अधिवेशनबाट अधिकांशमा नयाँ नेतृत्व चयन भइसकेको छ भने केहीमा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मधेस प्रदेशका अधिकांश जिल्लामा नेतृत्व चयनका लागि मतदान प्रक्रिया चलिरहेको उनले जानकारी दिए । हालसम्म कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ र ओखलढुंगामा अधिवेशन सम्पन्न भएको छ भने उदयपुरमा निर्वाचन प्रक्रिया जारी छ ।
त्यसैगरी मधेसका महोत्तरी, रौतहट, सिराहा, पर्सा र सर्लाहीमा निर्वाचन सम्पन्न भएको छ । धनुषा, सप्तरी र बारामा मतदानको कार्यतालिका तय गरिएको छ । बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर, दोलखा, सिन्धुली, धादिङ, रामेछाप, चितवन, रसुवा र ललितपुरमा अधिवेशन सम्पन्न भएको छ । सिन्धुपाल्चोकको अधिवेशन भने स्थगित गरिएको छ । गण्डकीका स्याङ्जा, कास्की, पर्वत, लमजुङ, म्याग्दी, तनहुँ, गोरखा र बाग्लुङमा अधिवेशन सम्पन्न भएका छन् । बाग्लुङ र नवलपुरमा भने निर्वाचन प्रक्रिया सुरु हुन बाँकी छ ।
लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी (पश्चिम), पाल्पा, कपिलवस्तु, दाङ, प्युठान, बाँके, बर्दिया, रोल्पा, अर्घाखाँची र रुपन्देहीसहित सबै जिल्लामा अधिवेशन सम्पन्न भएको रास्वपाले जनाएको छ । लुम्बिनी सबै जिल्ला अधिवेशन सक्ने पहिलो प्रदेश बनेको छ । कर्णालीका कालिकोट, सल्यान, रुकुम पश्चिम, मुगु र जुम्लामा अधिवेशन सम्पन्न भइसकेको छ । सुर्खेत, जाजरकोट र दैलेखमा निर्वाचन प्रक्रिया जारी छ भने डोल्पा, हुम्ला र रुकुम पूर्वमा अधिवेशन हुन बाँकी छ ।
सुदूरपश्चिम प्रदेशका बैतडी, डडेलधुरा, अछाम, दार्चुला, कैलाली र कञ्चनपुरमा अधिवेशन सम्पन्न भएको छ । डोटी र बाजुरामा पुनः निर्वाचन हुने भएको छ । हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने हालसम्म जिल्ला अधिवेशन हुन सकेको छैन ।
रास्वपाले वडा र पालिका तहको अधिवेशन सम्पन्न गरिसकेपछि जिल्ला अधिवेशनमार्फत संगठन सुदृढीकरण अभियानलाई तीव्रता दिएको हो । पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन आगामी असार ६ र ७ गते चितवनमा हुने तय भइसकेको छ ।




















