काठमाडौं । प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ। सोमबार दिउँसो सवा १ बजे १५ मिनेटका लागि स्थगित गरिएको बैठक निर्धारित समयमा सञ्चालन हुन नसकेपछि अर्को दिनका लागि सारिएको हो।
संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक जेठ २६ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका छन्।
सूचनामा विशेष कारणवश स्थगित गरिएको बैठक तोकिएको समयमा सञ्चालन हुन नसकेको उल्लेख गरिएको छ।
प्रधानमन्त्री बालेन शाहले केही दिनअघि संसद्मा दिएको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण विपक्षी दलहरूले लगातार प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्। प्रधानमन्त्रीले नेपालले पनि भारतको केही भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले त्यसबारे संसद्मै आएर स्पष्टिकरण तथा भनाइ सच्याउनुपर्ने माग गरिरहेका छन्।
सत्ता पक्ष र विपक्षीबीच सहमति जुट्न नसक्दा संसद्को नियमित कार्यसूची प्रभावित हुँदै आएको छ।




















