काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले आफ्नो विरोधलाई निरन्तरता दिएका छन्। सोमबार केहीबेरअघि सुरु भएको बैठकमा विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाइरहेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर असन्तुष्टि व्यक्त गर्दै विपक्षी दलहरूले विगत केही दिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएका छन्। उनीहरूको माग अनुसार प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर विवादित विषयमा स्पष्ट जवाफ दिनुपर्ने बताइएको छ।
विपक्षी दलहरूको विरोध कायमै रहेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि आजको बैठक स्थगित भएको छ ।
सोमबारको बैठक सुरु भए लगत्तै विरोध स्वरूप विपक्षी दलहरू उठेपछि सभामुख अर्यालले एमालेका संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्न समय दिए ।
उपनेता अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिएका कारण प्रधानमन्त्रीले नै भुल सुधार गर्नुपर्ने र क्षमा याचना गर्नुपर्ने बताइन् ।
१७ जेठमा प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्रले नेपालले पनि भारतको भूमि मिचेको बताउँदै नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यसअघिका संसद् बैठक पनि अवरोध गर्दै आइरहेका छन् ।
यसै विषयमा सहमति खोज्न आज बसेको सर्वदलीय बैठकमा पनि सत्ता पक्ष र विपक्षी दलबीच सहमति जुट्न सकेन। बैठकका क्रममा सत्तारुढ दलका नेताहरूले भारत भ्रमण तथा सीमा विवादसँग सम्बन्धित विषयमा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा धारणा राख्ने प्रस्ताव गरेका थिए।
तर विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गर्दै प्रधानमन्त्री शाहले नै संसद्मा उपस्थित भई जवाफ दिनुपर्ने अडान दोहोर्याएका छन्। सहमति नजुटेपछि प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध कायमै रहेको छ।




















