काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ ।
सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिननिधित्व गर्ने दलहरुको बैठक बोलाएका थिए ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको थियो तर कांग्रेस, एमाले र नेकपाले पार्टी प्रमुखलाई पठाएनन् भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आफै बैठकमा सहभागी भए ।
बैठकमा रास्वपाका सभापति लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहामहामन्त्री विपी आचार्य, सांसद दीपक बोहोरा, कानुनमन्त्री सोबिता गौतम सहभागी छन् ।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सांसद साहजना खातुन सहभागी छन् भने नेकपा एमालेबाट संसदीय दलका प्रमुख सचेत ऐनबहादुर महर सामेल छन् ।
यसैगरी नेकपाका सहसंयोजक माधव नेपाल, सांसद वर्षमान पुन, राप्रपाबाट अध्यक्ष लिङ्देन, प्रमुख सचेत खुस्बु ओली, जसपा नेपालका राष्ट्रिय सभा सदस्य महमोद खालिल सहभागी छन्।
हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले भने दलको प्रतिनिधि नपाठएर बैठक बहिष्कार गरेको छ ।



















