काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सीमा समस्यामा नेपालले कुनै पनि तेस्रो पक्षको मध्यस्थता नखोजेको स्पष्ट पारेका छन्। तीनदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर भएको टिप्पणीप्रति स्पष्ट पार्दै प्रधानमन्त्रीले पनि तेस्रो पक्षको मध्यस्थताको कुरा नगरेको बताए।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक माध्यम र विद्यमान द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने नेपालको स्पष्ट नीति रहेको बताए। आवश्यक परे अन्य उपयुक्त संयन्त्र परिचालन गर्ने विषयमा पनि भारतसँग छलफल भएको उनले जानकारी दिए।
‘प्रधानमन्त्रीजीले पनि तेस्रो पक्षको मध्यस्थता खोज्नुभएको छैन। सीमा सम्बन्धमा रहेका तथ्य प्रमाणहरूलाई पनि राखिनुपर्छ। त्यही कुरा प्रधानमन्त्रीजीले बताउनुभएको हो। यस विषयमा भारतमा पनि मैले कुरा राखेको छु,’ उनले भने।
उनले नेपालले सधैं तथ्य र प्रमाणका आधारमा वार्ताको टेबलमा बसेर सीमा समस्या समाधान गर्ने नीति लिएको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइ पनि त्यही आशयको रहेको बताए।
मन्त्री खनालले सीमा विवाद समाधान विश्वका धेरै मुलुकमा लामो समय लागेको उदाहरण रहेको उल्लेख गर्दै नेपालले पनि धैर्यका साथ ऐतिहासिक तथ्य र प्रमाणको आधारमा आफ्नो अडान प्रस्तुत गरिरहेको बताए। उनले भारतीय सञ्चारमाध्यमहरूसँगको संवादमा समेत सीमा समस्याको समाधान खोज्नुपर्ने विषय उठाएको र नेपाल-भारतबीच हुने हरेक औपचारिक छलफलमा यस विषयलाई निरन्तर उठाउने प्रतिबद्धता जनाए।




















