काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले तीन मन्त्रीको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र पारेको चर्चा चलिरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकार शासकीय सुधारसम्बन्धी सयबुँदे कार्यसूची कार्यान्वयनमा केन्द्रित रहेको बताएकी छन् ।
आइतबार मन्त्रालयमा सञ्चारकर्मीसँग आयोजित भेटघाट कार्यक्रममा मन्त्री मेहताले प्रधानमन्त्री शाहको निर्देशनअनुसार सरकारको मुख्य ध्यान सयबुँदे कार्यसूची सम्पन्न गर्नतर्फ केन्द्रित भएको बताइन् । उनले मन्त्रालयमा सुधारका थुप्रै काम गर्न बाँकी रहेको स्वीकार गर्दै आगामी दिनमा ती कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
मन्त्री मेहताले सञ्चारमाध्यमसँगको समन्वयलाई नियमित बनाउने उद्देश्यले कम्तीमा प्रत्येक १५ दिनमा पत्रकारसँग भेटघाट गरी मन्त्रालयका गतिविधिबारे जानकारी गराउने योजना रहेको पनि बताइन् । साथै, विज्ञ, सञ्चारकर्मी तथा सरोकारवालाबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै मन्त्रालयका कमजोरी सुधार र सेवाप्रवाह प्रभावकारी बनाउने दिशामा काम गरिने उल्लेख गरिन् ।
उनले मन्त्रालयमा आउने गुनासा र समस्याहरू क्रमशः सम्बोधन हुँदै जाने विश्वास व्यक्त गरिन् ।
यता प्रधानमन्त्री वालेन्द्र शाहले रक्षा, गृह तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी आफैंसँग राख्नुभएकाे छ। ती मन्त्रालयहरूमा छायाँ रूपमा केही निकट व्यक्तिहरूको प्रभाव रहेको चर्चा भइरहेका बेला बजेट पारित भएपछि थप तीन मन्त्रीलाई बिदाइ गर्ने तयारी भइरहेको राजनीतिक वृत्तमा चर्चा छ।




















