काठमाडौं । अभिनेता राजेश हमालले नेपाल–भारत सीमा सम्बन्धी विषयमा सार्वजनिक अभिव्यक्ति दिँदा तथ्यगत स्पष्टता र जिम्मेवारी आवश्यक हुने बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले सीमासम्बन्धी बहसमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ फरक प्रकृतिका विषय भएको उल्लेख गरेका छन्। उनका अनुसार यी दुई अवधारणालाई एउटै रूपमा व्याख्या गर्दा वास्तविक समस्या र त्यसको संवेदनशीलता ओझेलमा पर्न सक्छ।
हमालले खुला सीमाका कारण नेपाल र भारतका नागरिकबीच ऐतिहासिक रूपमा व्यापार, खेतीपाती तथा सामाजिक सम्बन्ध कायम रहेको उल्लेख गर्दै सीमा क्षेत्रमा देखिने कतिपय अतिक्रमणका घटना स्थानीय, प्रशासनिक वा भौगोलिक कारणले उत्पन्न हुने बताएका छन्। यस्ता समस्याको समाधान संवाद, संयुक्त सर्वेक्षण र द्विपक्षीय सहकार्यबाट सम्भव हुने उनको भनाइ छ।
तर राज्य–प्रायोजित भू–अतिक्रमण भने फरक विषय भएको उनको तर्क छ। कुनै राष्ट्रले विवादित भूभागमा सडक, प्रशासनिक संरचना, सुरक्षा संयन्त्र तथा सरकारी अधिकार विस्तार गरेर आफ्नो नियन्त्रण स्थापित गर्न खोज्ने अवस्थालाई राज्य–प्रायोजित अतिक्रमणका रूपमा बुझ्नुपर्ने उनले उल्लेख गरेका छन्।
हमालले कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्र लाई यस प्रकारको विवादको प्रमुख उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
उनको टिप्पणी प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको केही भूमि मिचेको आशयको अभिव्यक्ति दिएको विषयसँग जोडेर आएको हो। उक्त अभिव्यक्तिपछि राजनीतिक तथा सामाजिक वृत्तमा व्यापक बहस र आलोचना भइरहेको छ।
हमालले वर्तमान विश्व राजनीतिक परिवेशलाई अस्थिर र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै कुनै पनि राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि आवश्यक हुने बताएका छन्। संवेदनशील राष्ट्रिय विषयमा बोल्दा तथ्य, इतिहास र कूटनीतिक प्रभावबारे गम्भीर ध्यान दिनुपर्ने उनको धारणा छ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक आफ्नो भनाइमा हमालले सीमा सम्बन्धी विषयलाई भावनात्मकभन्दा पनि तथ्य र राष्ट्रिय हितका आधारमा विश्लेषण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।





















