काठमाडौं । नेकपा एमालेका युवा नेता तथा पूर्वसांसद दयालबहादुर शाहीले पार्टीभित्र अध्यक्षलाई हटाउने अभियानमा पदाधिकारी तहकै नेताहरू सक्रिय रहेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको राजनीतिक भूमिकामाथि प्रश्न उठाएका छन्। उनले विगत तीन दशकदेखि पार्टीभित्र देखिएका विभिन्न विवाद, गुटगत गतिविधि र नेतृत्व संघर्षसँग यी दुई नेताको भूमिका जोडिएको दाबी गरेका छन्।
शाहीले २०५३ सालमा तत्कालीन महासचिव माधव कुमार नेपाल विरुद्ध चलेको अभियानदेखि हाल अध्यक्ष केपी शर्मा ओली विरुद्ध कथित रूपमा भइरहेको गतिविधिसम्मको घटनाक्रमलाई एउटै राजनीतिक प्रवृत्तिको निरन्तरता भएको बताएका छन्।
उनले जननेता मदन भण्डारीले विभिन्न धार र समूहलाई समेटेर एमालेलाई एकताबद्ध बनाएको स्मरण गर्दै वर्तमान नेतृत्व तहका केही व्यक्तिहरूले भने पार्टीभित्र विभाजन र असन्तुष्टिलाई बढावा दिएको आरोप लगाए।
शाहीले पछिल्ला वर्षहरूमा जिल्ला र प्रदेश अधिवेशनहरूमा देखिएका आन्तरिक प्रतिस्पर्धा र गुटगत टकरावले पनि पार्टी कमजोर बनेको दाबी गरेका छन्। पार्टीको निर्वाचन परिणाम र संगठनात्मक चुनौतीमा समेत यस्ता गतिविधिको प्रभाव परेको हुन सक्ने उनको भनाइ छ।
उनले अध्यक्ष ओलीप्रति असन्तुष्टि राख्ने विभिन्न नेताहरूको प्रसंग उल्लेख गर्दै पार्टीभित्र अग्रज नेतृत्वको सम्मान हुनुपर्ने धारणा व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक टिप्पणीमा शाहीले अध्यक्ष हटाउने प्रयास अस्वीकार्य भएको उल्लेख गरेका छन्।
शाहीले एमालेका कार्यकर्ताले पार्टीभित्रको नेतृत्व परिवर्तन वा विवादका विषयमा अन्तिम निर्णय गर्ने भन्दै पार्टी अध्यक्षविरुद्ध हुने कुनै पनि अभियानलाई कार्यकर्ताले स्वीकार नगर्ने दाबी गरेका छन्। साथै उनले मदन भण्डारीको खुला र स्पष्ट राजनीतिक संस्कृतिलाई स्मरण गर्दै पार्टीभित्रका मतभेद पारदर्शी ढंगले अघि बढाउनुपर्ने बताएका छन्।




















