काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर बीच दिल्लीमा भेटवार्ता भएको छ।
बिहीबार साँझ भएको उक्त भेटवार्ता भारतको नयाँ दिल्लीमा भएको हो । रास्वपा सभापति लामिछाने पाँच दिने भ्रमणका लागि गत १८ गते नयाँ दिल्ली गएका थिए । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा दिल्ली पुगेका उनी त्यसयता विभिन्न उच्चस्तरीय राजनीतिक भेटघाटमा सक्रिय छन् ।
भ्रमणका क्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर तथा भाजपा नेताहरूसँग समेत भेटवार्ता गरिसकेका छन् ।
हिजो दिनभर पार्टी प्रवास कमिटीद्वारा आयोजित कार्यक्रममा सहभागी भएपछि सभापति लामिछानेले साँझ विशेष दूत गोरसँग भेटवार्ता गरेको जनाइएको छ।
उक्त भेटलाई कूटनीतिक तथा क्षेत्रीय राजनीतिक सम्बन्धका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ । गोर यसअघि गत वैशाखमा नेपाल भ्रमणमा आएका थिए । त्यस समयमा पनि उनले सभापति लामिछानेसहित रास्वपाका नेताहरूसँग भेटवार्ता गरेका थिए ।
भेटवार्तामा भएका विषयवस्तुबारे भने दुवै पक्षबाट विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।



















