काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले पूर्वगृहमन्त्री सुधन गुरुङले प्रहरी हिरासतमा पुगेर आफ्ना अगुवामाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै घटनाको छानबिन तथा कारबाहीको माग गरेको छ।
अभियानका संयोजक सुनिल सिंह र सहसंयोजक अजय सोडारीले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका जेनजी अभियानका अगुवामाथि पूर्वगृहमन्त्री गुरुङले अनुचित व्यवहार गरेको दाबी गरेका हुन् ।
अभियानका अनुसार काठमाडौंस्थित भारतीय दूतावास अगाडि आयोजित प्रदर्शनका क्रममा जेनजी अभियानका अगुवा अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूलाई प्रहरी वृत्त लैनचौरअन्तर्गत सोह्रखुट्टे हिरासतमा राखिएको बताइएको छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार प्रहरी नियन्त्रणमा लिइएको करिब एक घण्टापछि पूर्वगृहमन्त्री गुरुङ हिरासत कक्षमा पुगेर प्रदर्शनकारीहरूसँग भेटेका थिए । त्यस क्रममा उनले “तपाईंहरू कहाँबाट परिचालित हुनुहुन्छ ?”, “यो अन्तिम मौका हो” र “अब सरकार र प्रहरीले समाते भने छोड्दैनौँ” जस्ता अभिव्यक्ति दिएको आरोप अभियानले लगाएको छ।
अभियानले उक्त व्यवहारले हिरासतमा रहेका नागरिकमाथि मानसिक दबाब सिर्जना गरेको दाबी गरेको छ। प्रभावशाली राजनीतिक व्यक्तित्वले हिरासतमा रहेका नागरिकसँग यस्तो व्यवहार गर्नु कानुनी शासन, नागरिक स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको अभियानको ठहर छ।
त्यसैगरी, हिरासतमा रहेका व्यक्तिहरूलाई २४ घण्टासम्म पर्याप्त खाना तथा पिउने पानी उपलब्ध नगराइएको आरोप पनि अभियानले लगाएको छ। यसलाई मानवअधिकार उल्लंघनको विषयका रूपमा उठाउँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरिएको छ।
राष्ट्रिय जेनजी नागरिक अभियानले सरकारसमक्ष पाँचबुँदे माग प्रस्तुत गर्दै घटनाबारे स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी दोषीमाथि आवश्यक कारबाही गर्न आग्रह गरेको छ।





















