काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको असन्तुष्टि सतहमा आएको छ। पार्टीका केन्द्रीय पदाधिकारीसहित १८३ जना नेताकार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।
पार्टीका महामन्त्री डा. धवलशमशेर राणानिकट नेताहरूले बिहीबार पार्टी छोडेको घोषणा गरेका हुन्। पार्टी परित्याग गर्नेहरूमा पूर्वपदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका नेताहरू समेत रहेका छन्।
पार्टी छोड्ने प्रमुख नेताहरूमा मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ र नारायणप्रसाद कोइरालालगायत रहेका छन्। असन्तुष्ट समूहले यो पहिलो चरणको मात्रै राजीनामा भएको दाबी गर्दै थप नेताकार्यकर्ताले पनि पार्टी छोड्ने संकेत दिएको छ।
राजीनामा दिने नेताहरूले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले नेतृत्वको आत्मकेन्द्रित, हिनभावनायुक्त र कमजोर कार्यशैलीका कारण राप्रपा आफ्नो मूल सिद्धान्त र लक्ष्यबाट विचलित भएको आरोप लगाएका छन्।
विज्ञप्तिमा जनताकेन्द्रित राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरिए पनि व्यवहारमा त्यसअनुसार पार्टी सञ्चालन हुन नसकेको उल्लेख गरिएको छ। साथै, केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई तत्कालीन प्रचण्ड नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रममा सहभागी हुनु पार्टीको मूल विचारविपरीत भएको उनीहरूको भनाइ छ।
असन्तुष्ट पक्षले पार्टीभित्र बढ्दो स्वेच्छाचारिता, भनाइ र गराइबीचको अन्तर तथा नेतृत्वको जवाफदेहिताको अभावका कारण जनताले पार्टीलाई दण्डित गरेको दाबी गरेको छ। नेतृत्वको आलोचना गर्ने नेताकार्यकर्तामाथि निरंकुश शैलीमा कारबाही गरिएको आरोप पनि उनीहरूले लगाएका छन्।
राजीनामा पत्रमा विशेषगरी राजसंस्था पुनर्स्थापनाको मुद्दा कमजोर बनाइएको आरोप लगाइएको छ। “राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरू पटक–पटक तुहाउन मूल नेतृत्व नै सक्रिय रह्यो, तर संसदमा संवैधानिक राजसंस्थाको पक्षमा एउटा पनि प्रस्ताव दर्ता गरिएन,” विज्ञप्तिमा उल्लेख छ।
राप्रपाको स्थापना जुन उद्देश्य, मूल्य र मान्यताका आधारमा भएको थियो, वर्तमान नेतृत्वले ती सबैलाई कमजोर पार्ने प्रयास गरेको निष्कर्षसहित उनीहरूले पार्टी परित्याग गरेको बताएका छन्।
पार्टी छाड्ने नेता/कार्यकर्ताहरु


























