काठमाडौँ । एसीसी महिला प्रिमियर कप अन्तर्गतको खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ।
नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६२ रन मात्रै बनाउन सक्यो। भुटानका लागि डेचेन वाङ्मोले ६९ बलमा ३९ रन बनाएर संघर्षपूर्ण इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकिनन्।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल सुरुआतमै दबाबमा परेको थियो। ६७ रनमा ७ विकेट गुमाएर संकटमा रहेको नेपाललाई अनुभवी खेलाडी सीता रानामगर र रुबिना क्षेत्रीले सम्हाले। दुवैले आठौं विकेटका लागि ४० रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्याए।
सीताले २८ बलमा ३७ रनको उत्कृष्ट इनिङ्स खेलिन् भने रुबिनाले २१ बलमा २४ रन जोडिन्।
बलिङतर्फ नेपालका लागि रुबिना क्षेत्री चम्किइन्। उनले १५ रन खर्चेर ३ विकेट लिइन्। रिया शर्माले २० रन खर्चेर २ विकेट हात पारिन्।
यो जितसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो सफलता हासिल गरेको छ।



















