काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङस्थित कोरोला नाकाबाट नेपाल भित्रिएका ७७६ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ।
भन्सार छलि गरी नेपाल भित्र्याइएको आशंकामा मुस्ताङको जोमसोम, पर्वतको कुश्मा, कास्कीको हेम्जा तथा नुवाकोटको पासाङल्हामु सडकखण्डबाट बुधबार राति ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
गाडी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत तथा नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो।
सशस्त्रका अनुसार जोमसोम, कुश्मा र हेम्जाबाट ७७४ वटा तथा नुवाकोटको पासाङल्हामु सडकखण्डबाट थप २ वटा गरी कुल ७७६ वटा विद्युतीय गाडी नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा रहेका सबै गाडी आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि सम्बन्धित निकायलाई बुझाइने सशस्त्र प्रहरी बलले जनाएको छ।




















