काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व परिवर्तन र पुनर्गठनको बहस चलाउने नेताहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आफूलाई नेतृत्वबाट हटाउने अभियानलाई लक्षित गर्दै उनले त्यसलाई ‘भ्रमपूर्ण सोच’को संज्ञा दिएका छन्।
एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र केही व्यक्तिहरू नेतृत्व परिवर्तनमै केन्द्रित भएको टिप्पणी गरे।
“आफ्नै पार्टीको भर्त्सना गर्ने, आफैंले कमी गरियो भनेर आलोचना गर्ने, अनि केही पाइएन भने शिर काटेर टेबलमा राखिदियो भने शिरबिनाको पार्टी मज्जाले कुद्छ र बढ्छ भन्ने भ्रम पालिएको छ,” ओलीले भने।
कार्यक्रममा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे उठेका प्रश्नको पनि जवाफ दिएका छन्। भण्डारी २०३७ सालदेखि नै पार्टी सदस्य रहेको र राष्ट्रपति बनेपछि मात्रै उनको सदस्यता निष्क्रिय भएको उनले स्पष्ट पारे।
“विद्या भण्डारीजीको विषयमा धेरै चर्चा भइरहन्छ। उहाँ राष्ट्रपति भएको समयमा पार्टी सदस्य हुनुहुन्नथ्यो। नभएको सदस्यता नवीकरण गर्ने कुरा पनि भएन,” ओलीले भने।
उनका अनुसार एमाले केन्द्रीय कमिटीले भण्डारीलाई आवेदन दिन आग्रह गरेको थियो र आवेदन प्राप्त भएपछि पार्टीले सदस्यताको विषयमा निर्णय गरेको हो।
“उहाँले आवेदन दिनुभयो, त्यसपछि कमिटीले विचार गर्यो। उहाँ २०३७ सालदेखिको पार्टी सदस्य हो, २०३४ सालदेखि आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो,” ओलीले बताए।
राष्ट्रपति पदमा रहँदा कुनै पनि राजनीतिक दलको सक्रिय सदस्य हुन नमिल्ने संवैधानिक व्यवस्थाका कारण भण्डारीको सदस्यता निष्क्रिय रहेको भन्दै उनले त्यस विषयमा भ्रम नराख्न आग्रह गरे।
पछिल्लो समय एमालेभित्र नेतृत्व, संगठन र आगामी राजनीतिक दिशाबारे बहस चलिरहेका बेला ओलीको यो अभिव्यक्ति आएको हो।



















