काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्को रोष्ट्रमबाट राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको बताएका छन् ।
एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
ओलीले कुनै पूर्वनिर्धारित कार्यसूची वा कार्यक्रमबिना संसद्मा प्रश्नोत्तर कार्यक्रम राखिएको भन्दै त्यसको औचित्यमाथि प्रश्न उठाए। उनले प्रधानमन्त्रीको व्यवहारलाई ‘बचपना’को संज्ञासमेत दिए।
प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै ओलीले त्यसलाई असत्य र राष्ट्रघाती टिप्पणीका रूपमा चित्रित गरे।
उनले भने, “प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट असत्य, झुट र राष्ट्रघाती वचन बोल्नुभयो। नेपालले भारतको जमिन मिचेको धेरै ठाउँमा छ भनेर भन्नुभयो, जुन कुरा सत्य होइन। यस्तो कुरा संसद्मा बोलिनु हुँदैन थियो।”
ओलीले उक्त अभिव्यक्ति कसको हित र कुन उद्देश्यका लागि आएको हो भन्ने प्रश्नसमेत उठाए। साथै, संसद्मा अचानक यस्तो विषय उठाइनु नेपाली जनताको भावनामाथिको अवमूल्यन भएको उनको भनाइ थियो।
“न कुनै कार्यक्रम थियो, न कार्यसूची। अचानक किन यस्तो कुरा सुनाइयो रु नेपाली जनतालाई हेप्नका लागि यसभन्दा उपयुक्त ठाउँ अरू के हुन सक्छ रु” ओलीले भने।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा बहस भइरहेका बेला ओलीले सार्वजनिक रूपमा कडा आलोचना गरेका हुन्।




















