काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणाबीच देखिएको विवादप्रति असन्तुष्टि जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले पार्टी नेतृत्वबीचको शक्ति संघर्ष र आरोप–प्रत्यारोपप्रति आक्रोश व्यक्त गरेका हुन्। उनले नेताहरूको व्यवहारबाट कार्यकर्ता र युवापुस्ता निराश बनेको टिप्पणी गरेका छन्।
शाहीले लेखेका छन्, “तिमीहरूको डिएनएमै मिलेर जाने भन्ने रहेनछ। तिमीहरूको जुँगाको लडाइँ देखेर हामी युवाहरू वाक्क भइसकेका छौं। कार्यकर्ताहरू एकअर्काको पक्ष–विपक्षमा लागेर लडिरहेका छन्। अलिकति पनि लाज लाग्दैन ?”
उनले अहिलेको आवश्यकता एकअर्कालाई दोषारोपण गरेर विभाजित हुने नभई एकजुट भएर अघि बढ्नु रहेको बताएका छन्। नेतृत्वको दौड र पदका लागि भइरहेको हानाथापले संगठन कमजोर बन्दै गएको उनको भनाइ छ।
“एउटालाई देशभरि हार बेहोर्दासम्म नेतृत्व छोड्न मन छैन, अर्कोलाई चुनावै नलडी नेतृत्व लिनुपर्ने। पदका लागि यति धेरै हानाथाप र अहंकार किन ?” भन्दै शाहीले नेतृत्वप्रति प्रश्न उठाएका छन्।
उनले नेतृत्व भनेको पदमा टाँसिएर बस्नु मात्र नभई आवश्यक पर्दा त्याग गर्न सक्ने क्षमता पनि भएको उल्लेख गरेका छन्। साथै, विज्ञप्ति निकाल्ने र अलग–अलग भेला गर्ने कामले समस्या समाधान नहुने उनको तर्क छ।
शाहीले अध्यक्ष लिङ्देन र महामन्त्री राणालाई प्रत्यक्ष संवादमा बस्नसमेत आग्रह गरेका छन्। “यदि तिमीहरूको हिम्मत र दम छ भने म बस्छु, हामी तीनजना सँगै बसौँ। छलफल गरौँ,” उनले लेखेका छन्।
शाहीले अध्यक्ष लिङ्देन र महामन्त्री राणालाई प्रत्यक्ष संवादमा बस्नसमेत आग्रह गरेका छन्। “यदि तिमीहरूको हिम्मत र दम छ भने म बस्छु, हामी तीनजना सँगै बसौँ। छलफल गरौँ,” उनले लेखेका छन्।



















