काठमाडौं । नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ। कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्।
केन्द्रीय संगठन विभागको आयोजनामा भएको कार्यशालाको उद्घाटन ओलीले गमलामा रोपिएको बिरुवामा पानी हालेर गरेका थिए।

काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित कार्यशाला पार्टीको संगठनात्मक सुदृढीकरण, सदस्यता विस्तार तथा पार्टीलाई थप गतिशील बनाउने उद्देश्यले आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
कार्यशालामा पार्टीका सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी छन्। साथै प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटीका अध्यक्ष, संगठन विभाग प्रमुख तथा विभिन्न जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरूको उपस्थिति रहेको एमालेले जनाएको छ।
कार्यशालामा सदस्यता नवीकरण र विस्तार अभियान, संगठन सुदृढीकरण तथा आगामी रणनीतिका विषयमा छलफल र अभिमुखीकरण गरिने कार्यक्रम रहेको छ।





















