काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्र राईले पार्टी परित्याग गरेका छन्। धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आजदेखि श्रम संस्कृति पार्टी र हर्क साम्पाङसँग आफ्नो कुनै सम्बन्ध नरहेको घोषणा गरेका हुन्।
साम्पाङलाई धरानको मेयर बनाउन सञ्चालन गरिएको अभियानमा सक्रिय भूमिका निर्वाह गरेका राईले आफूसहित १०० भन्दा बढी कार्यकर्ताले पार्टी छाडेको दाबी गरेका छन्।
राईले आफूलाई धरान उपमहानगरपालिकाको आगामी मेयर उम्मेदवार बनाउने आश्वासन दिएर पार्टीमा भित्र्याइएको तर पछि धोका दिइएको आरोप लगाए। हर्क साम्पाङले भने भावी मेयर उम्मेदवारका रूपमा धनबहादुर राईको नाम सार्वजनिक गरिसकेका छन्। धनबहादुर २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए।
स्वतन्त्र रूपमा चुनाव लड्ने तयारीमा रहेका राईलाई हर्क साम्पाङले गत वैशाखमा पार्टीमा प्रवेश गराएका थिए। पार्टी प्रवेश गराउँदा मेयर पदको आश्वासन दिइएको उनको दाबी छ।
पत्रकार सम्मेलनमा राईले भने, “उहाँले मलाई नै मेयरको उम्मेदवार तपाईं नै हो, पक्का हो भन्नुभएको थियो। मैले विश्वास गरेर पार्टीमा लागेको थिएँ। अहिले आएर अर्कै व्यक्तिलाई अघि सार्नुभएको छ।”
राईले थपे, “मेयरका आकांक्षी अरू पनि छन् नि भनेर सोध्दा पनि तपाईं नै उम्मेदवार हो भन्नुभएको थियो। अहिले भने अरूलाई नै जिम्मेवारी र पद दिँदै हिँड्नुभएको छ।”
उनको आरोपबारे हर्क साम्पाङ वा श्रम संस्कृति पार्टीको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।




















