काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आवश्यक पर्दा काठमाडौंमा कम्तीमा पाँच हजार जनालाई तत्काल परिचालन गर्न सक्ने संगठनात्मक आधार तयार गर्न जनसंगठनका इन्चार्ज तथा अध्यक्षहरूलाई निर्देशन दिएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी र जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै संगठनलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिए ।
महासचिव पोखरेलले संकटका बेला नेतृत्वको क्षमता र संगठनको प्रभावकारिता परीक्षण हुने भएकाले कार्यकर्तासँगको सम्पर्क सधैँ सुदृढ राख्न आवश्यक रहेको बताए । संकटका समयमा हतारमा गरिने निर्णयले नकारात्मक परिणाम निम्त्याउन सक्ने भन्दै उहाँले धैर्यता, एकता र स्पष्ट दृष्टिकोणका साथ अघि बढ्नुपर्ने धारणा राखे ।
पार्टीभित्र समस्या मात्र देखाएर निराशा फैलाउनेभन्दा समाधान खोज्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिँदै उनले समस्या छ कि छैन भन्नेभन्दा पनि त्यसको समाधान कसरी गर्ने भन्ने विषय महत्वपूर्ण रहेको बताए।
उनले पार्टीमाथिको जनविश्वास र जनसम्बन्धको अवस्थाबारे समग्र समीक्षा गर्न आवश्यक रहेको उल्लेख गर्दै जनतासँगको सम्बन्ध कमजोर भए संगठनात्मक चुनौती थप जटिल बन्न सक्ने चेतावनी दिए।
हालैको निर्वाचन परिणामबारे चर्चा गर्दै महासचिव पोखरेलले निर्वाचनअघि प्राप्त भएका रिपोर्ट उत्साहजनक भए पनि परिणाम अपेक्षाभन्दा फरक आएको बताए। उनले जनताले एमालेप्रति विश्वास गुमाएका नभई सचेत सन्देश दिनका लागि फरक निर्णय गरेको विश्लेषण गरे ।
सदस्यता नवीकरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिँदै उनले नियमित सदस्यता नवीकरणले संगठनलाई चलायमान, अनुशासित र सक्रिय बनाउने बताए।
जनसंगठनहरूले आफ्नो समुदायको हितमा केन्द्रित भएर काम गर्नुपर्ने, सदस्यता विस्तारलाई प्राथमिकता दिनुपर्ने तथा जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिए।
सम्बोधनका क्रममा महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई नेपालको भू–राजनीतिक संवेदनशीलताविपरीत, आपत्तिजनक र घातक रहेको टिप्पणी गरे । उनले यस्ता अभिव्यक्तिले राष्ट्रिय हितमा नकारात्मक असर पार्न सक्ने बताउँदै जनसंगठनहरूलाई यसबारे जनतालाई सुसूचित गर्न र राजनीतिक रूपमा प्रतिवाद गर्न आग्रह गरे ।
बैठकमा पार्टी सचिव तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले संयन्त्रमार्फत भएका कामहरूको समीक्षा गर्दै जनसंगठनहरूको भूमिकाको प्रशंसा गरे । सोही अवसरमा उनले संयन्त्रको संयोजकको जिम्मेवारी विशाल भट्टराईलाई हस्तान्तरण गरे ।
नयाँ जिम्मेवारी ग्रहण गर्दै भट्टराईले काम नगर्नेहरू लोकप्रिय र काम गर्नेहरू अलोकप्रिय बन्ने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
बैठकले जनसंगठनहरूको सक्रियता र संगठनात्मक योगदानको कदर गर्दै निवर्तमान संयोजक ढकाललाई धन्यवाद ज्ञापन गरेको जनाएको छ।




















