काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धारणा सार्वजनिक गर्न माग गरेको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर रास्वपाको आधिकारिक धारणा के हो भन्ने प्रश्न उठाएका हुन्।
संसदमा बोल्दै दुलालले भने, “नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिउपर रास्वपाको धारणा के हो ?”
आइतबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका थिए। सोही क्रममा उनले नेपालले मात्र नभई केही स्थानमा नेपालतर्फबाट पनि भारतको भूमि अतिक्रमण भएको जानकारी आफूले पाएको अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्रीले भनेका थिए, “भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्ने कुरा प्रधानमन्त्री भएपछि थाहा पाएँ।”
प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएपछि राजनीतिक वृत्तमा बहस सुरु भएको छ। विपक्षी दलहरूले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीसँग स्पष्टीकरण तथा माफीको माग गरिरहेका छन्।
यसैबीच नेकपाले प्रधानमन्त्रीको अभिव्यक्तिमा सरकारको नेतृत्व गरिरहेको दल रास्वपाको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने माग संसदमा उठाएको हो।




















