काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदहरूले दोस्रो दिन पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेका छन्।
मंगलबार बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। राष्ट्रिय सभामा रहेका सबै विपक्षी दलका सांसदहरूले एकसाथ विरोध जनाएका हुन्।
विरोधका बीच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहयोग गर्न सांसदहरूलाई पटक–पटक आग्रह गरेका थिए। उनले विवादित अभिव्यक्ति प्रतिनिधि सभामा भएको विषय भएकाले सदनको कारबाही अघि बढाउन सहयोग गर्न अनुरोध गरेका थिए।
तर विपक्षी सांसदहरूले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा माफी नमागेसम्म विरोध जारी रहने अडान दोहोर्याए। विरोध कायमै रहेपछि अध्यक्ष दाहालले बैठक स्थगित गरेका छन्।
अब राष्ट्रिय सभाको अर्को बैठक जेठ २० गते बुधबार दिउँसो १२:१५ बजे बस्ने तय भएको छ। यसअघि पनि सोमबार विपक्षी दलको अवरोधका कारण बैठक स्थगित भएको थियो।
आइतबार प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले “नेपालले पनि भारतको सीमा मिचेको” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले प्रधानमन्त्रीसँग माफी माग्न तथा सो अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गर्दै आएका छन्।




















