काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवा भएका छन्।
सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख रहेका पोखरेललाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा समितिको बैठकले जेठ ६ गते एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।
यी हुन् ४ निर्णय:
(१) ओजोन तह संरक्षण सम्झौता स्वीकृत: संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) अन्तर्गत ओजोन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी ‘मोन्ट्रियल प्रोटोकल’ कार्यान्वयन सम्झौतालाई बैठकले स्वीकृत गरेको छ। यो जलवायु परिवर्तनसँग सम्बन्धित सम्झौता हो।
(२) सशस्त्रको एआईजीमा बढुवा: सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा अञ्जनीकुमार पोखरेललाई बढुवा गर्ने निर्णय भएको छ। गृहमन्त्रालयको प्रस्तावमा यो निर्णय भएको हो।
(३) अध्ययन समितिको म्याद थप: २०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सिर्जित घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित समितिको कार्यअवधि ४५ दिन थप गरिएको छ।
(४) भूमि समितिमा नियुक्ति: भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्कोटा तथा सदस्यहरूमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, लमजुङका पद्मनिति सोती र काठमाडौंकी डा. रोहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको छ।




















