काठमाडौं । नेकपा एमालेले सदस्यता नवीकरण तथा विस्तार अभियानलाई प्रभावकारी बनाउन जेठ २० र २१ गते राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ।
पार्टीको केन्द्रीय संगठन विभागको आयोजनामा हुने दुईदिने कार्यशालाको उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ। प्रतिनिधि सभा निर्वाचनपछि ओली सार्वजनिक रूपमा सहभागी हुने यो पहिलो कार्यक्रम हुनेछ।
‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक कार्यशाला काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
एमालेका अनुसार पार्टीको संगठनात्मक सुदृढीकरण, सदस्यता विस्तार र संगठनलाई थप गतिशील बनाउने उद्देश्यले कार्यशाला आयोजना गर्न लागिएको हो।
कार्यशालामा पार्टीका सबै प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा विभिन्न जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागिता रहनेछ।
दुई दिनसम्म चल्ने कार्यशालामा सदस्यता नवीकरण र विस्तार अभियान, संगठन सुदृढीकरणका रणनीति तथा आगामी कार्ययोजनाबारे छलफल र अभिमुखीकरण गरिने एमालेले जनाएको छ।




















