काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दिल्लीमा राजनीतिक भेटघाट सुरु गरेका छन्।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भ्रमणका लागि भारत पुगेका लामिछानेलाई मंगलबार भाजपा केन्द्रीय कार्यालयमा विशेष स्वागत गरिएको छ। कार्यालय पुग्दा उनलाई परम्परागत झाँकी, फूलमाला तथा पार्टी नेता–कार्यकर्ताले स्वागत गरेका थिए।
भ्रमणका क्रममा लामिछानेले भाजपाका अध्यक्ष नीतिन नवीनसँग भेटवार्ता गरेका छन्। भेटमा भाजपा कार्यालयको संरचना, संगठनात्मक अभ्यास तथा राजनीतिक कार्यशैलीबारे जानकारी आदानप्रदान भएको बताइएको छ।
रास्वपाका अनुसार भेटवार्तामा नेपाल–भारतका लोकतान्त्रिक शक्तिबीचको सम्बन्ध, दलगत अनुभव आदानप्रदान, राजनीतिक सहकार्य तथा दुई पक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको थियो।
सोमबार भारत पुगेका लामिछानेले भ्रमणका क्रममा त्यहाँ रहेका नेपाली समुदाय तथा आफ्ना समर्थकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम तय गरेका छन्।
उनको भारत बसाइका क्रममा धार्मिक तथा सांस्कृतिक महत्वको स्थल अयोध्याको भ्रमणसमेत रहने जनाइएको छ।




















