काठमाडौँ । विशेष अदालतले पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश सुदर्शनदेव भट्ट र विदुर कोइरालाको संयुक्त इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले गत चैत २६ गते विद्युतीय चुरोट (भेप) भित्र लुकाएर सुन तस्करी गरेको अभियोगमा महराविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा उनका छोरा राहुल महरासहित २८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता गरिएको थियो ।
आयोगले दायर गरेको आरोपपत्रअनुसार आरोपितहरूले भेपको भित्री भागमा सुनका साना टुक्रा लुकाएर चीनबाट नेपाल भित्र्याई विदेशी बजारमा बिक्री गर्ने संगठित तस्करी सञ्जाल सञ्चालन गरेको दाबी गरेको थियो ।
मुद्दामा पूर्वमन्त्रीसमेत रहेका कृष्णबहादुर महरा र उनका छोरा राहुल महरालाई मुख्य योजनाकारका रूपमा उल्लेख गरिएको थियो ।
अख्तियारका अनुसार सन् २०२२–२०२३ को अवधिमा भेपमार्फत चीनबाट सुन तस्करी गरिएको प्रमाण फेला परेको दाबी गरिएको छ । आयोगले २८ जना प्रतिवादीविरुद्ध भ्रष्टाचार, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनअन्तर्गत कारबाहीको माग गरेको थियो ।
विशेष अदालतको पछिल्लो आदेशसँगै महरा धरौटी बुझाएर रिहा हुने बाटो खुलेको छ भने मुद्दाको अन्तिम टुंगो भने अदालतको नियमित सुनुवाइपछि लाग्नेछ ।




















