काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धमा संसद्मा दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि बैठक स्थगित भएको छ।
सोमबार अपराह्न दोस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा पनि विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्री शाहले संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिनुपर्ने, सार्वजनिक रूपमा माफी माग्नुपर्ने तथा उक्त भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरेका छन्।
विपक्षी दलहरूले आफ्ना माग पूरा नभएसम्म संसद्को कार्यवाही अघि बढ्न नदिने अडान दोहोर्याएका थिए। लगातारको अवरोधपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन्।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा बोल्दै नेपाल–भारत सीमा विवाद कूटनीतिक संवादबाट समाधान गर्नुपर्ने धारणा व्यक्त गर्ने क्रममा “भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्।
प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय गरिएको छ।




















