काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई गम्भीर र आपत्तिजनक बताएका छन्।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा लुम्बिनीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै शर्माले प्रधानमन्त्रीको भनाइप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले आफ्नै देशको संसद्मा उभिएर नेपालले छिमेकी मुलुकको भूमि मिचेको दाबी गर्ने प्रधानमन्त्री विश्वमै दुर्लभ भएको टिप्पणी गरे।
“प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर र आपत्तिजनक छ,” शर्माले भने, “संसारको एकमात्र प्रधानमन्त्री, जो आफ्नै देशको संसद्मा उभिएर मेरो देशले छिमेकीको सीमा मिचेको छ भनेर भनिरहेका छन्।”
शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाल–भारत सीमा विवादको विषयलाई नयाँ ढंगले व्याख्या गर्ने प्रयास गरेको देखिएको उल्लेख गर्दै त्यसको आशयबारे प्रश्न उठाए।
“यसको अर्थ के अब हिसाब बराबर भयो भन्ने हो ?” उनले प्रश्न गरे।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा बोल्दै नेपाल–भारत सीमा विवाद कूटनीतिक संवाद र आपसी समझदारीमार्फत समाधान गर्नुपर्ने धारणा व्यक्त गर्ने क्रममा नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको जानकारी आफूले प्रधानमन्त्री बनेपछि थाहा पाएको बताएका थिए। उक्त अभिव्यक्तिपछि विभिन्न राजनीतिक दलका नेताहरूले आलोचना गर्दै आएका छन्।




















