काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई गलत, त्रुटिपूर्ण र अपरिपक्व टिप्पणी गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यादवले प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने आशय व्यक्त गरेको विषयप्रति आपत्ति जनाएका हुन्।
“सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालले पनि भारतको सीमा मिचेको छ भनी दिएको विवादास्पद अभिव्यक्ति गलत, त्रुटिपूर्ण र अपरिपक्व छ,” यादवले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले अहिलेसम्म नेपालले भारतको सीमा नमिचेको दाबी गर्दै भारतले समेत यस्तो विषयमा कुनै औपचारिक दाबी नगरेको उल्लेख गरेका छन्।
“नेपालले भारतको सीमा मिचेको छैन। भारतले पनि यस विषयमा कहिल्यै केही बोलेको छैन,” यादवले भनेका छन्।
अध्यक्ष यादवले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हितअनुकूल नरहेको जिकिर गर्दै सीमा सम्बन्धी विषयमा जिम्मेवार अभिव्यक्ति आवश्यक हुने बताएका छन्।
“प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हितअनुकूल छैन,” उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा बोल्दै नेपाल–भारत सीमा विवाद कूटनीतिक संवादबाट समाधान गर्नुपर्ने धारणा राख्ने क्रममा नेपालले पनि केही स्थानमा भारतीय भूमि मिचेको जानकारी आफूले प्रधानमन्त्री बनेपछि थाहा पाएको बताएका थिए। उक्त अभिव्यक्तिपछि विभिन्न राजनीतिक दलका नेताहरूले आलोचना गर्दै आएका छन्।




















