काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि सोमबार भारत प्रस्थान गरेका छन्।
भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने भारत गएको रास्वपाले जनाएको छ।
लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, उनकी पत्नी निकिता पौडेल तथा प्रदीप आचार्य पनि भारत गएका छन्।
रास्वपाका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार सभापति लामिछानेले जेठ १८ देखि २२ गते (जुन १–५) सम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नेछन्।
त्यसैगरी, उनले भाजपा नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।
भ्रमणका क्रममा लामिछानेले अयोध्याको समेत भ्रमण गर्नेछन्। भेटघाट, छलफल तथा भ्रमण कार्यक्रमको समन्वय नयाँदिल्लीस्थित नेपाली दूतावासले गरिरहेको रास्वपाले जनाएको छ।




















