काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका सन्दर्भमा प्रतिनिधिसभामा दिएको अभिव्यक्तिपछि उत्पन्न राजनीतिक विवादबारे साझा धारणा तय गर्न विपक्षी दलहरूको सर्वदलीय बैठक आज बस्दैछ।
बैठक नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा मध्यान्ह १२ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति, त्यसबाट उत्पन्न राजनीतिक परिस्थिति तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
कांग्रेसका सचेतक निश्कल राईका अनुसार प्रतिपक्षी दलहरूबीच पछिल्लो घटनाक्रमबारे साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा बोल्दै नेपाल–भारत सीमा सम्बन्धी विषय कूटनीतिक संवाद र आपसी समझदारीबाट समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। सो क्रममा उनले भारतले मात्र नभई नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको जानकारी आफूले प्रधानमन्त्री बनेपछि थाहा पाएको बताएका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि संसद् तथा राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएको छ। विपक्षी दलहरूले उक्त भनाइलाई आपत्तिजनक भन्दै प्रतिनिधिसभाको अभिलेखबाट हटाउन माग गरेका छन्।
यसै विषयलाई लिएर आजको सर्वदलीय बैठकमा विपक्षी दलहरूले आगामी रणनीति र साझा धारणा तय गर्ने अपेक्षा गरिएको छ।




















