काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई ‘गम्भीर, गलत र राष्ट्रविरोधी’ टिप्पणी गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै खनालले प्रधानमन्त्री शाहले संसद्मा बोल्ने क्रममा नेपालले समेत भारतको भूमि मिचेको रहेछ भन्नुले नेपाली जनताको राष्ट्रिय भावनामाथि चोट पुगेको बताएका हुन्।
खनालले नेपाली जनता विदेशी अतिक्रमणविरुद्ध लामो समयदेखि संघर्षरत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले विदेशी अतिक्रमणको विषयलाई हलुका बनाउने र विदेशी शक्तिको पक्षपोषण गर्ने सन्देश दिएको आरोप लगाए।
“उहाँले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिनुभयो ?” भन्दै खनालले प्रधानमन्त्रीसँग सार्वजनिक रूपमा स्पष्टीकरण माग गरेका छन्।
उनले उक्त अभिव्यक्तिले देशभित्र र बाहिर रहेका करिब ३ करोड नेपालीको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात भएको दाबी गर्दै यस्ता अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्री पदमा बस्न नसुहाउने टिप्पणी गरेका छन्।
प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी नमागेसम्म विरोध र भर्त्सना जारी राख्न देशभक्त जनता तथा राजनीतिक शक्तिहरूलाई आग्रह गर्दै खनालले संसद्को अभिलेखबाट उक्त अभिव्यक्ति हटाउन सभामुखसमक्ष समेत माग गरेका छन्।
प्रधानमन्त्री शाहले आइतबार संसद्मा दिएको अभिव्यक्तिबारे विभिन्न राजनीतिक वृत्तमा प्रतिक्रिया आउने क्रम जारी रहेको छ।




















