काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित भएको छ।
विपक्षी दलहरूको विरोध र नाराबाजीका बीच आइतबार राति सभामुख डोलप्रसाद अर्यालले नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीद्वारा निर्णयार्थ प्रस्तुत गरिएको प्रतिवेदन बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि प्राप्त संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्न थालेपछि विपक्षी दलका सांसदहरूले अवरोध सुरु गरेका थिए ।
विपक्षी सांसदहरूले नियमावली मस्यौदामा दर्ता भएका संशोधन प्रस्तावहरू विषयगत समितिमा पठाएर थप छलफल गरिनुपर्ने माग राखेका थिए । तर सभामुखले कार्यसूचीअनुसार बैठकको कारबाही अगाडि बढाउनुभएपछि सदनमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
विरोधका क्रममा विपक्षी सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए भने सत्ता पक्ष र विपक्षी सांसदहरूबीच धकेलाधकेल तथा घम्साघम्सीसमेत भएको थियो।
यसबीच सभामुखले प्रक्रिया अगाडि बढाउँदै मस्यौदा समितिको प्रतिवेदन निर्णयार्थ प्रस्तुत गर्नुभएको र अन्ततः प्रतिवेदन बहुमतबाट पारित भएको घोषणा गरेका हुन् ।
प्रतिनिधिसभा नियमावली संशोधनको विषयलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीच लामो समयदेखि मतभेद रहँदै आएको छ। विपक्षी दलहरूले नियमावलीका केही प्रावधानमाथि थप छलफल आवश्यक रहेको धारणा राख्दै आएका छन्।




















