काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीविपरीत अभिव्यक्ति दिएको भन्दै उक्त भनाइ सदनको अभिलेख (रेकर्ड) बाट हटाउन माग गरेका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै महरले संसद् सञ्चालनका क्रममा सबैले नियमावलीको पालना गर्नुपर्ने उल्लेख गर्दै सभामुखको अभिव्यक्तिमाथि आपत्ति जनाएका हुन्।
उनले भने, “हामी कोही पनि प्रतिनिधिसभा नियमावलीभन्दा माथि छैनौँ। नियमावलीकै आधारमा सदन चल्ने हो। सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमबारे तीन दिनअघि जानकारी दिनुपर्ने व्यवस्था नियमावलीमा कहीँ पनि छैन भन्नुभयो, जुन नियमावलीविपरीत छ। त्यसैले स्वयं सभामुखकै ती शब्द रेकर्डबाट हटाउन माग गर्छु।”
महरले प्रतिनिधिसभा नियमावलीको परिच्छेद–९ अन्तर्गतका नियम ५६ देखि ५९ सम्म प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको बताए।
उनका अनुसार विपक्षी सांसदहरूले दलगत नभई व्यक्तिगत रूपमा सांसदहरूलाई प्रश्न सोध्न दिनुपर्ने माग गरेका थिए। “हामीले १५ जना सांसदलाई व्यक्तिगत रूपमा प्रश्न गर्न दिनुपर्छ भनेका हौँ, दलगत रूपमा होइन। तर जम्मा ६ जनाको मात्रै प्रश्न लिइयो,” उनले भने।
प्रधानमन्त्री बालेन शाह रोष्ट्रममै उपस्थित हुँदा पनि थप समय माग गरिए पनि अवसर नदिइएको भन्दै महरले असन्तुष्टि व्यक्त गरे। उनले संसद्को कार्यसञ्चालन नियमावलीको पूर्ण पालना हुनुपर्नेमा जोड दिएका छन्।


















