काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले वर्तमान सरकारले देशको आर्थिक अवस्था सुदृढ बनाउने र आम्दानी बढाउने विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाललाई निर्यातमुखी अर्थतन्त्रतर्फ उन्मुख गराउन सरकार केन्द्रित रहेको बताए।
उनले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्ने उद्देश्यले निर्यातसँग सम्बन्धित केही कर तथा शुल्कमा सहुलियत प्रदान गरिएको उल्लेख गरे।
“हामीले निर्यात गर्ने वस्तुहरूमा लाग्ने करहरूमा अहिले छुटको व्यवस्था गरेका छौँ। हामी निर्यातमुखी हुनुपर्छ,” उनले भने, “देशमा उत्पादन भएका वस्तुहरू विभिन्न राष्ट्रमा निर्यात गर्न सकियोस् भन्ने उद्देश्यले केही व्यवस्था दुई वर्षका लागि स्थगित गरेका हौँ।”
प्रधानमन्त्री शाहले वर्तमान अवस्थामा देशलाई आर्थिक रूपमा सबल बनाउनुपर्ने आवश्यकता रहेको धारणा पनि राखे।
“अहिले देशमा आत्मविश्वास बढाउनेभन्दा पनि देशलाई पैसा चाहिएको छ। त्यसैले सरकारको ध्यान आर्थिक स्रोत बढाउनेतिर केन्द्रित भएको छ,” उनले भने।
उनका अनुसार उत्पादन, निर्यात र लगानी प्रवर्द्धनमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने सरकारको मुख्य लक्ष्य रहेको छ।



















