काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न कालखण्डमा भएका आन्दोलन, प्रदर्शन तथा घटनासम्बन्धी नेपाल सरकारलाई बुझाइएका सबै प्रतिवेदनहरूको एकमुष्ट अध्ययन गरिने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले यस्तो धारणा राखेका हुन्। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनबारे प्रश्न उठाएपछि प्रधानमन्त्रीले सरकारको धारणा स्पष्ट पारेका थिए।
जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भने, “आजसम्म नेपाल सरकारलाई बुझाइएका जति पनि प्रतिवेदनहरू छन्, ती सबै प्रतिवेदनलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने कामकारबाही त्यही हिसाबले गर्छ।”
उनले मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन मात्र नभई विगतका विभिन्न आन्दोलन, र्याली तथा घटनासम्बन्धी तयार गरिएका प्रतिवेदनहरू पनि सरकारको अध्ययनको दायरामा रहने बताए।
प्रधानमन्त्री शाहले प्राप्त प्रतिवेदनहरूको निष्कर्ष र सिफारिसका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अगाडि बढाइने संकेत समेत गरेका छन्।



















