काठमाडौं । सरकारले आगामी पुसभित्र नेपाल टेलिकममा आफ्नो स्वामित्व ६६ प्रतिशतमा सीमित गर्दै बाँकी ४४ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
हाल नेपाल टेलिकममा संस्थागत लगानीकर्ताको हिस्सा ९१.५३ प्रतिशत रहेको छ भने सर्वसाधारणको स्वामित्व ८.४७ प्रतिशत मात्रै छ । सरकारले आफ्नो ६६ प्रतिशत स्वामित्व कायम राख्दै बाँकी हिस्सा जनस्तरमा बिक्री गर्ने योजना अघि सारेको हो ।
अर्थमन्त्री वाग्लेले सेयर बिक्रीबाट प्राप्त रकम नेपाललाई ‘टेक हब’ बनाउने अभियानमा उपयोग गरिने बताए ।
यसअघि पनि टेलिकममा सरकारको स्वामित्व क्रमशः घटाउँदै लैजाने घोषणा भए पनि कार्यान्वयन हुन सकेको थिएन । यसपटक भने सरकारले स्पष्ट समयसीमा तोकेर सर्वसाधारणको सहभागिता बढाउने नीति लिएको जनाएको छ ।


















