काठमाडौं । सरकारले भन्सार दर संरचनामा व्यापक सुधार गर्दै हाल कायम ११ तहको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुल एक तहले घटाइएको छ । सरकारले कुल २७३ वस्तुमा भन्सार दर घटाएको जनाएको छ ।
यस्तै, ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क पूर्ण रूपमा खारेज गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए ।
भन्सार विन्दुमा संकलन हुने विभिन्न छरिएका करलाई एकीकृत गर्दै हरित करको अवधारणामा रुपान्तरण गरिएको पनि सरकारले जनाएको छ ।
सरकारले यस कदमबाट उद्योग व्यवसायको लागत घट्ने, व्यापार सहजीकरण हुने तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन मिल्ने अपेक्षा गरेको छ ।


















