काठमाडौँ । सरकारले विस्थापित गरेका सुकुम्वासीको उचित व्यवस्थापनको माग गर्दै शुक्रबार काठमाडौँमा प्रदर्शन गरिएको छ ।
संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालको अगुवाइमा आयोजित प्रदर्शनमा सहभागीहरूले सिटी बजाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । माइतीघर मण्डलाबाट सुरु भएको र्याली नयाँ बानेश्वरसम्म पुगेको थियो ।
प्रदर्शनकारीहरूले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई कुनै विकल्प नदिई विस्थापित गरिएको भन्दै विरोध जनाएका छन् । राज्यले डोजर आतंक सिर्जना गरेर कमजोर वर्गमाथि अन्याय गरेको उनीहरूको आरोप छ ।
सुकुम्वासीको आन्दोलनमा अधिकारकर्मी, नागरिक समाजका अगुवा, बुद्धिजीवी तथा जेनजी युवाहरूले पनि ऐक्यबद्धता जनाएका थिए ।
प्रदर्शनकारीहरूले डोजर अभियान तत्काल रोक्न, विस्थापित सुकुम्वासीको उचित व्यवस्थापन गर्न तथा उनीहरूको आवाज सुनुवाइ गर्न सरकारसँग माग गरेका छन् । सरकार मौन बनेपछि बाध्य भएर सिटी बजाएर खबरदारी गर्नुपरेको उनीहरूको भनाइ छ ।


















