काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन भएको छ । समान विचार र साझा उद्देश्य बोकेका राजनीतिक शक्तिहरूबीच सहकार्य गर्दै राष्ट्रसेवाको लक्ष्य हासिल गर्ने उद्देश्यसहित दुई दलबीच एकता भएको जनाइएको छ ।
पार्टी समायोजनसम्बन्धी सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन् ।
दुवै दलबीच भएको सात बुँदे सहमतिमा पूर्ण एकता कायम गर्दै नेता तथा कार्यकर्ताको व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढाउने उल्लेख गरिएको छ ।
समायोजनपछि संगठन सुदृढ गर्दै साझा राजनीतिक अभियानलाई प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्ष सहमत भएका छन् ।
हाम्रो नेपाल पार्टीसँग एकता कार्यक्रममा बोल्दै विभिन्न पार्टीहरूसँग एकता गर्दै अगाडि बढ्ने कुलमान घिसिङले बताए ।
उनले भने, ‘अस्ति राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गर्यौँ । अहिले हाम्रो पार्टी नेपालसँग एकता भएको छ। त्यसै गरेर अरू धेरै पार्टीहरूसँग पनि उज्यालो नेपाल पार्टीमा समाहित हुन छलफल भइरहेको छ। विभिन्न पार्टीहरूका नेता र विभिन्न बुद्धिजीवीहरू, विभिन्न पेशा–व्यवसायमा रहेकाहरू पनि समाहित हुने क्रममा छन्।’





















