काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनअपेक्षा पूरा गर्न राज्यसत्ताको चरित्र, शासकीय स्वरूप र राजनीतिक नेतृत्वको आचरणमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् ।
गणतन्त्र दिवस २०८३ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तन मात्रले नागरिकको अपेक्षा पूरा नहुने उल्लेख गरे । उनले राजनीतिक दल तथा नेतृत्व अझ सिर्जनशील, विनयशील र जनउत्तरदायी बन्नुपर्नेमा जोड दिए ।
राष्ट्रपतिले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग प्रत्यक्ष जोड्न नसके उपलब्धिको अर्थ नहुने धारणा राख्दै शासन प्रणालीमा व्यवहारिक सुधार आवश्यक रहेको बताए ।
उनले बलियो जनादेशसहित वर्तमान सरकार गठन भएको उल्लेख गर्दै सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अघि बढाएकोमा खुशी व्यक्त गरे ।
शासकीय सुधारका १०० कार्यसूचीको प्रभावकारी कार्यान्वयन तथा सीमाविहीन अर्थतन्त्र र तौलविहीन व्यापारका लागि गरिएका कानूनी तथा संरचनागत सुधारले जनतामा नयाँ आशा जगाउने विश्वास उनले व्यक्त गरे ।
राष्ट्रपति पौडेलले मुलुकका प्राकृतिक स्रोतसाधनको उच्चतम उपयोगमार्फत कृषि, पर्यटन, ऊर्जा, उद्योग तथा सेवा क्षेत्रलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए । आर्थिक विकास र समृद्धिलाई नागरिकको दैनिक जीवनसँग जोड्न सके मात्र शासन व्यवस्था प्रभावकारी बन्ने उनको भनाइ थियो ।
उनले गणतन्त्रले नागरिकलाई आफ्नो जाति, भाषा, धर्म, संस्कृति र भूमिमाथिको स्वामित्वको अनुभूति गराएको उल्लेख गर्दै यसलाई राष्ट्र निर्माणको प्रेरणाका रूपमा लिनुपर्ने बताए ।
समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपपति रामसहायक यादव, प्रधानमन्त्री वालेन्द्र शाहसहित उच्च पदस्थ अधिकारीहरू सहभागी छन् ।
प्रधानमन्त्री शाहले समारोहमा सम्बोधन नगर्ने भएपछि सरकारले समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गरेको थियो ।
गणतन्त्र दिवसका दिन जेठ १५ गते विशेष समारोह आयोजना हुँदै आएको छ। सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्दै आएका थिए ।



















