काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी एकताका लागि निम्तो पठाएको जनाएका छन् ।
श्रम संस्कृति पार्टीको संसदीय दलका नेतासमेत रहेका राईले आफूमा समाहित हुन घिसिङलाई बुधबार निम्ता गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
साम्पाङले फेसबुकमा लेखेका छन्, ‘केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेर ब। देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने ??? यस्तो नि हुन्छ ??? मिल्नुपर्छ भनेर मैले निम्तो पठाछु हिजो ।’
गत प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले ७ सिट जितेको थियो भने घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले एउटा सिट पनि जित्न सकेन ।




















