काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले जेन–जी आन्दोलनसँग सम्बन्धित घटनामा संलग्नता रहेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १५ जना सांसद तथा व्यक्तिमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।
आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा उनीहरूको भूमिका, अभिव्यक्ति, सामाजिक सञ्जालका धारणा तथा विभिन्न निकायबाट संकलित विवरणका आधारमा अनुसन्धान आवश्यक देखिएको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा नाम उल्लेख गरिएका व्यक्तिहरूमा मनिष झा, हरि ढकाल, तोषिमा कार्की, सुधन गुरुङ, आशिका तामाङ लगायत १५ जनाको नाम समावेश गरिएको छ ।
आयोगका अनुसार प्रदर्शनअघि, प्रदर्शनका क्रममा तथा पछि दिइएका अभिव्यक्ति र गतिविधिले प्रदर्शनकारीहरू उत्तेजित भएको हो वा होइन, सार्वजनिक शान्ति–सुरक्षामा असर परेको हो वा होइन भन्ने विषयमा विस्तृत अनुसन्धान आवश्यक रहेको छ ।
प्रतिवेदनले कुनै प्रकारको दुरुत्साहन वा उक्साहट भएको हो वा होइन भन्नेबारे निष्पक्ष छानबिन गर्नुपर्ने भन्दै अनुसन्धान प्रक्रिया स्वच्छ सुनुवाइको अधिकार सुनिश्चित गर्दै अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
आयोगले दोषी ठहर भए कानुनी कारबाही अघि बढाउन समेत सिफारिस गरेको छ ।
प्रतिवेदनमा सामाजिक सञ्जाल नियमनसम्बन्धी निर्देशिकाका केही प्रावधानको दुरुपयोग गर्दै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएपछि देशव्यापी आन्दोलन सुरु भएको उल्लेख छ । उक्त प्रतिबन्धलाई संविधानको अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेपका रूपमा व्याख्या गरिएको छ ।
त्यसपछि माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरतर्फ अघि बढ्दा ठूलो भीड जम्मा भएको र सुरक्षा व्यवस्थापन कमजोर भएकाले स्थिति नियन्त्रणबाहिर गएको प्रतिवेदनमा उल्लेख छ ।
आयोगका अनुसार केही समूहले भिडलाई उक्साउने तथा सुरक्षाफौजमाथि आक्रमण गर्न प्रेरित गरेको देखिएको भन्दै थप सूक्ष्म अनुसन्धान आवश्यक रहेको सिफारिस गरिएको छ । साथै, प्रदर्शनअघि, दौरान र पछि सार्वजनिक भएका अभिव्यक्ति तथा गतिविधिको समेत छानबिन गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रतिवेदनले सार्वजनिक शान्ति–सुरक्षामा असर पार्ने सम्भावित दुरुत्साहनका विषयमा निष्पक्ष अनुसन्धान गरी दोषी प्रमाणित भए कानुनी कारबाही अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
यसअघि आयोगले घटनाका समग्र कारणमा तत्कालीन राजनीतिक निर्णय, प्रशासनिक कमजोरी र सुरक्षा तयारीको अभाव प्रमुख रहेको निष्कर्ष पनि प्रस्तुत गरेको थियो ।




















